मकवानपुर, कार्तिक १२ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोइन्टमा, लागूऔषध खैरो हिरोइन जस्तो देखिने २२२ ग्राम २६ मिलिग्राम धुलो पदार्थ सहित दुई जना पक्राउ परेका छन्।
कार्तिक १२ गते बिहान करिब २:३० बजे प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ख७४४३ नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गरेको थियो। उक्त बसमा सवार रहेका सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ७ निवासी ४१ वर्षीय दामोदर लुईटेल र १८ वर्षीय सन्देश राज धामीलाई शंका लागि तल झारी खानतलासी गर्दा उनीहरूको साथमा खैरो हिरोइन जस्तो देखिने उक्त लागूऔषध फेला परेको हो।
प्रहरीले पक्राउ परेकाहरूमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
