खानेपानी मन्त्री प्रदीप यादवद्वारा वीरगञ्जमा छठ पर्वको तयारी निरीक्षण, पर्व भव्य रूपमा सम्पन्न गर्न निर्देशन

समाचार

रसीद आलम ,बिरगंज ,१९ कार्तिक ।

पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र महापर्व छठको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भई समाजमा शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना प्रगाढ होस् भन्ने कामना गरेका छन्। जसपा वीरगञ्ज एकाइ कमिटीद्वारा नेता प्रद्युम्न प्रसाद यादवको निवासमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहसहित जसपाका सम्पूर्ण कार्यकर्ता, स्थानीय नेता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा मन्त्री यादवले छठ पर्वको तयारीलाई लिएर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गर्दै सरसफाइ र सौन्दर्यीकरणमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। अधुरो निर्माण कार्य शीघ्र सम्पन्न गरी सर्वसाधारणका लागि सुरक्षित वातावरण उपलब्ध गराउन र छठ पर्व भव्य रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्। मन्त्री यादवले छठलाई हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतीक भएको भन्दै यसलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

निरीक्षण कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको पनि उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *