बिरगंज ,९ मंसिर ।
पर्सा जिल्ला प्रशासन कार्यालयले कार्यालय प्रवेशद्वारमा सेवाग्राहीको मर्का कम गर्नका लागि कार्यालय प्राङ्गणभित्रका पाँच भाडाका सटर खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले अत्यधिक सेवाग्राहीको चाप र नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि सटर खाली गर्न लागेको जानकारी दिनुभएको छ।

कार्यालयमा राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका अनलाइन फारम निःशुल्क भर्न स्थान अभाव भएका कारण सटर हटाउन आवश्यक परेको कार्कीले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पदभार ग्रहण गरेसँगै कार्यालय परिसरभित्र बिचौलियाको अन्त्य गरी निःशुल्क सेवा सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको जानकारी गराउनुभएको छ।
कार्यालय प्राङ्गणमा अर्जेन्ट साइबर, न्यू क्वालिटी प्रिन्टर्स एण्ड नाइनल स्टाम्प र फोटो फेस डिजिटल स्टुडियोले भाडामा सटर लिँदै आएका थिए। अब ती स्थानहरू सेवाग्राहीको सुविधाका लागि प्रयोग गरिने छ।
कोठा खाली गर्ने निर्णयले आफुहरु समस्यामा परेको व्यसायीहरुले बताएका छन् ।
व्यवसायीहरूका अनुसार, अचानक गरिएको यो निर्णयले उनीहरूको दैनिकीमा गम्भीर प्रभाव पार्ने र विकल्प खोज्नसमेत समय नदिएको गुनासो गरेका छन्।
व्यवसायीहरूले स्थानीय प्रशासनसँग संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै व्यवसाय स्थानान्तरणका लागि समय र उपयुक्त स्थानको व्यवस्था गर्न माग गरेका छन्।
व्यवसायीहरूले नागरिक सेवा र व्यापारिक गतिविधिबीच सन्तुलन कायम गर्दै सबै पक्षलाई न्याय हुने समाधानको पहल गर्न प्रशासनलाई आह्वान गरेका छन्।
