बहुदरमाई नगरपालिकामा विद्यार्थीहरूको तोडफोड र आगजनी।

बिदेश राजनीति समाचार

बिरगंज ,५ पुस ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा शुक्रबार बिहान विद्यार्थीहरूले तोडफोड र आगजनी गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। शिक्षक र कर्मचारीले लामो समयदेखि तलब नपाएको र पठनपाठन अवरुद्ध भएको भन्दै आक्रोशित विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा क्षति पुर्‍याएका हुन्।

विद्यार्थीहरूले कार्यालयको ताला तोडेर कुर्सी र टेबल बाहिर सडकमा ल्याई आगजनी गरेका थिए। स्थानीयका अनुसार लेखा शाखाबाहेक अन्य सबै शाखाका कुर्सी, टेबल, र दराजमा तोडफोड गरिएको छ। कार्यालयका महत्वपूर्ण कागजातहरू भुइँमा छरिएको अवस्थामा भेटिएका छन्।

घटनास्थलमा पुगेका प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । “सीसीटीभीको लाइन बन्द गरिएको छ, कार्यालयका सामानलाई बाहिर लगेर आगजनी गरिएको छ,” प्रहरीले जानकारी दिएको छ।

स्थानीयहरूले नगर प्रमुखको लापरवाहीले शिक्षा, स्वास्थ्य, र विकास निर्माणका काम प्रभावित भएको आरोप लगाएका छन्। “शिक्षक र कर्मचारीले तलब नपाउँदा हाम्रा छोराछोरीको भविष्य अन्धकारमा परेको छ,” एक आक्रोशित स्थानीयले भने।

प्रहरीले घटनाको गम्भीरतापूर्वक छानबिन गर्ने र दोषीमाथि कानूनी कारबाही गर्ने बताएको छ। बहुदरमाई नगरपालिकामा बजेट अभावका कारण शिक्षा, स्वास्थ्य, र विकास निर्माणमा देखिएको संकट तत्काल समाधान गर्न स्थानीय प्रशासन र नगर प्रमुखले चाँडो पहल गर्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *