वीरगञ्ज,१७ फागुन ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-०९, गौशाला रोडस्थित लालबाबु साह कानुको दुईतले पक्की घरको ग्राउण्ड फ्लोरमा रहेको गोदामबाट अवैध रूपमा भण्डारण गरिएका विभिन्न सामान नियन्त्रणमा लिइएको छ।
विशेष सूचनाका आधारमा, मिति २०८१ फागुन १७ गते सशस्त्र प्रहरी बलको टोलीले वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरूको सहकार्यमा उक्त गोदाममा छापा मारेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा १५ जना सुरक्षाकर्मी र भन्सार कार्यालयका टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो।
अवैध रूपमा भण्डारण गरिएका विभिन्न सामानको मूल्य रु. १,६२,४७०।– रहेको छ। नियन्त्रणमा लिइएका सामानहरूमा मटर १,७२१ के.जि., बादाम (Almonds) १९ के.जि., पुरानो प्लास्टिक डोरी १८ के.जि., डोर वासड ७५ के.जि., पुरानो बोरा सिलाउने मेसिन १ थान, छोकडा २२ के.जि., तथा किताबको गाता ११ के.जि. रहेका छन्।
नियन्त्रणमा लिइएका सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ।
