काठमाडौं, चैत ५ ।
काठमाडौंको टोखाबाट २५ करोड बराबरको अवैध विदेशी मुद्रा सहित एक ट्रक नियन्त्रणमा लिइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले टोखा नगरपालिका–२, झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकलाई जाँच गर्दा फल्स बटम बनाई लुकाइ राखिएको ठूलो परिमाणको अमेरिकी डलर, युरो लगायतका विदेशी मुद्रा बरामद गरेको हो।
प्रहरीका अनुसार, ट्रक चालक कुसाङ लामा (४३) सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ निवासीलाई पक्राउ गरिएको छ। उनी यसअघि पनि सन् २०७३ मा राजस्व छलि मुद्दामा ७ किलो सुन सहित पक्राउ परी ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए।
बरामद गरिएको रकम विवरण:
- अमेरिकी डलर (USD):
- $100 दरका नोट – 3,119 थान
- $50 दरका नोट – 179 थान
- युरो (Euro):
- €500 दरका नोट – 11 थान
- €200 दरका नोट – 480 थान
- €100 दरका नोट – 4,148 थान
- €50 दरका नोट – 17,177 थान
बरामद मुद्राको नेपाली रूपैयाँमा अनुमानित मूल्य २५ करोड १९ लाख २४ हजार ९५० रहेको छ।
प्रहरीले ट्रक चालकलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको छ। प्रहरीले अवैध रूपमा विदेशी मुद्रा ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।
