पाँच करोडभन्दा बढीको राजस्व चुहावट मुद्दा दायर

समाचार

वीरगंज, १३ चैत ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजमा एकै दिन दुईवटा राजस्व चुहावट सम्बन्धी मुद्दा दर्ता गरेको छ।

पहिलो मुद्दा अमायरा वस्त्रालय (स्था. ले. नं. 619932804) का संचालक चन्दन गुप्ताविरुद्ध दायर गरिएको छ। उनले बिजक नै जारी नगरी कपडाको कारोबार गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरीत कार्य गरेको आरोपमा मुद्दा चलाइएको हो। गुप्ताले आयकर र मूल्य अभिवृद्धि कर (मू.अ. कर) गरी कुल रु. २,२३,९८,२७६.७५ बराबरको बिगो बेहोर्नुपर्नेछ। यसबाहेक, ऐनको दफा २३(१) बमोजिम बिगोबराबर जरिवाना गरी रु. ४,४७,९६,५५३.५० जरिवानासहित कैद सजायको मागदाबी गरिएको छ।

दोस्रो मुद्दा शिव शान्ति कन्स्ट्रक्सन (स्था. ले. नं. ३०३४५६४६३) का सञ्चालक संजय कुमार कुर्मीविरुद्ध दायर भएको छ। उनले वीरगंज महानगरपालिकाबाट जारी रसिदको दुरुपयोग गरी दोहोरो रसिदमार्फत कारोबार गर्दै राजस्व चुहावट गरेको पाइएपछि कारबाही अघि बढाइएको हो। कुर्मीले आयकर र मू.अ. कर गरी रु. २९,९९,२१४.३४ बिगो बेहोर्नुपर्नेछ। बिगोबराबरको जरिवाना गरी रु. ५,९९,८४२८.६८ जरिवानासहित कैद सजायको माग गरिएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाको कडा अनुगमन र नेतृत्व

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि प्रसाद शर्माको नेतृत्वमा पछिल्लो समय राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा कडाइ गरिएको छ। शर्माको सक्रियता र इमानदार नेतृत्वका कारण हालसम्म ११ वटा राजस्व चुहावट तथा ८ वटा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता भएका छन्।

शर्माले कार्यालयभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्दै सेवाग्राहीलाई झन्झटरहित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। “मेरो मातहतका कुनै कर्मचारीले आर्थिक प्रलोभनमा परेर सेवाग्राहीलाई दुःख दिने कार्य गरेमा कडा कारबाही गर्नेछु,” शर्माले भने।

स्थानीय बुद्धिजीवी र समाजसेवीहरूले शर्माको नेतृत्वमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले उदाहरणीय काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *