बारा, १३ चैत ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा स्थित दुधौरा खोलाबाट प्रहरीले १५० किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय (इ.प्र.का.) सिमरा, बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगंजको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रदीप प्रसाद पाण्डेको कमान्डमा खटिएको टोलीले रतनपुरबाट बकुलिया तर्फ गाँजा ओसारपसार गर्दै गरेका चार जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ६ बोरा (करिब १५० किलो) गाँजा बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरू
१. बुद्ध घलान (४२ वर्ष), चक्री टोल, जितपुरसिमरा उ.म.न.पा.-२२, बारा
२. नन्दकिशोर सहनी (३६ वर्ष), जितपुरसिमरा उ.म.न.पा.-८, बारा
३. विर बहादुर डम्वा (२८ वर्ष), हालको बसोबास अज्ञात
४. सोमलाल पाख्रीन (२७ वर्ष), रातोमाटी, हेटौंडा उ.म.न.पा.-१५, मकवानपुर
पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
