वीरगञ्ज,१४ चैत ।
ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राजकुमार यादवको प्यानल विजयी भएको छ। लामो विवाद र तनावपछि बुधबारदेखि पुनः सुरु भएको मतगणनाको अन्तिम परिणाम अनुसार, यादव नेतृत्वको समूहले निर्णायक जित हासिल गरेको हो।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट असन्तुष्ट हुँदै स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर निर्वाचनमा भाग लिएका यादवले नेविसंघकै आधिकारिक उम्मेदवार विकास मण्डल धानुकलाई ४६२ मतको फराकिलो अन्तरले पराजित गरे। निर्वाचन अधिकृत दिलीप कुमार सिंहका अनुसार, यादवले १,११५ मत प्राप्त गर्दा धानुकले केवल ६५३ मतमा सीमित रहे।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादवले ५६२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने सुधीर पटेल समूहका कमलेश कुमार यादव ४५० मतसहित चौथो स्थानमा रहे।
ठाकुरराम क्याम्पसमा कूल १०,७२९ मतदातामध्ये ४,२९९ विद्यार्थीले मतदान गरेका थिए। राजकुमार यादवको जितले नेविसंघभित्रको आन्तरिक असन्तोष र विद्यार्थीहरूमा देखिएको नयाँ धारको समर्थनलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
