बारा, चैत्र २६।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ६ बजे सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित चेकप्वाइन्टमा एक जना पुरुषलाई १० किलो ७ सय ग्राम गाँजासहित पक्राउ गरेको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ३६ प २१७७ नम्बरको १५० सि.सि. पल्सर मोटरसाइकललाई रोकिन खोज्दा चालक भागेपछि लखेटी पक्रिएको थियो। ऐ. गणेश मन्दिर नजिक मोटरसाइकल फेला पारेर जाँच गर्दा चालकले बोकेको कालो झोलाभित्र ६ किलो र मोटरसाइकलको तेल ट्याङ्कीभित्र लुकाइछिपाइ राखिएको ४.७ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने व्यक्ति मकवानपुर जिल्लाको मनहरी नगरपालिका–६ बसोबास गर्ने ३८ वर्षीय रबी थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए। प्रहरीले गाँजासहित थिङलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
