वीर अस्पताल १३५ बर्षमा, राष्ट्रपतिले गरे प्रशंशा

समाचार

काठमाडौं, २३ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुरयाउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई मङ्गलबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

“हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ, संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुरयाउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो”, उनले भने।

उनले संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले यो पेशालाई सेवाभावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास व्यक्तिसमेत गरेका छन्।

हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु हाम्रा लागि खुसीको विषय भएको उनको भनाइ थियो ।
“नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटक पटक भन्ने गरेको छु, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो, यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु”, राष्ट्रपति पौडेलले भने ।

उनले यस प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आम नागरिकलाई गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गर्दै आउनु खुशीको विषय हो भन्दै आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे।

 

साथै, १३५ वर्षको लामो यात्रा पूरा गर्दै एक साधारण अस्पतालबाट आज एउटा प्रतिष्ठानको रुपमा स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रको महत्वपूर्ण आधार बन्नु खुसीको विषय भएको उनको भनाइ थियो ।

 

राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रही शिक्षण अस्पतालको रुपमा यसले चिकित्सा शिक्षामा महत्वपूर्ण योगदान पुरयाउँदै भविष्यमा नयाँ नयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ पनि यस प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।

 

साे कार्यक्रममा प्रा. डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *