पर्सा, २४ वैशाख —
जिल्ला पर्सा, पोखरिया नगरपालिका–५ सतवरियाबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार चौहानलाई वैशाख २२ गते पक्राउ गरिएको हो। उनीविरुद्ध पोखरिया नगरपालिका–६ श्रीसिया निवासी शंकर प्रसाद महतो चाईको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।
विवाहका बेला बेहुली पक्षले बिदाइ गर्न नमानेपछि उत्पन्न विवादले २०७९ साल वैशाख ९ गते पोखरिया नगरपालिका–४ स्थित वालउद्यान अङ्ग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा झगडा भएको थियो। उक्त झगडामा शंकर प्रसाद महतो गम्भीर घाइते भएका थिए। उपचारका क्रममा २०७९ साल असार ११ गते काठमाडौंस्थित शहीद गंगालाल अस्पतालमा उनको मृत्यु भएको थियो।
पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान जारी राखेको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य भइरहेको प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
चौहानलाई पक्राउ गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
