भारत लैजाने प्रयासमा रहेका युवक पक्राउ: दुई युवतीलाई जागिरको प्रलोभन देखाएर बेचबिखन गर्न खोजिएको खुलासा

समाचार

रसीद आलम ,वीरगञ्ज, २४ बैशाख ।

भारतमा राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ जिल्ला, गल्छी गाउँपालिका–२ निवासी २४ वर्षीय रोजेन भुजेल रहेका छन्। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्राका अनुसार, वीरगञ्जको शंकराचार्य गेटस्थित सडकखण्डमा ईनर्वा प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक रोशन कार्कीको नेतृत्वमा खटिएको टोलीले भारततर्फ जाँदै गरेका युवतीहरूलाई रोकी सोधपुछ गरेको थियो।

सोधपुछका क्रममा युवतीहरू शंकास्पद देखिएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, वीरगञ्ज ल्याइ प्रारम्भिक अनुसन्धान गरिएको थियो। अनुसन्धानमा युवतीहरूलाई हेटौंडा र वीरगञ्जका कपडा कारखानामा राम्रो आम्दानी हुने काम लगाइदिने भन्दै प्रलोभनमा पारेर भारततर्फ लैजाने प्रयास गरिएको खुलेको हो।

पक्राउ परेका भुजेललाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसूरमा जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *