पर्सा, २५ बैशाख ।
भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थामा भारत बिहारको मोतीहारी जिल्लामा चार जना शंकास्पद चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल–भारत सिमानामा पर्ने रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत मितेरी पुल हुँदै भारत प्रवेश गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरूलाई बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका डेन विजोन, लिं युन्गाघौई, हि क्युँ हैनसेन र हुवाग लिविंग रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले जानकारी दिएका छन्। ती सबै भारतमा अवैध रूपमा प्रवेश गर्ने क्रममा बिना भिसा पक्राउ परेका हुन्।
चारै जनालाई हरैया थानामा प्राथमिकी (एफआईआर) दर्ता गरी अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका मध्ये एकजना महिला पनि रहेकी छिन्, जसले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेकी भारतीय प्रहरीले जनाएको छ। उनले आफूलाई नेपाली नागरिक भन्दै हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषा प्रयोग गर्ने गरेकी छन्।
भारतीय प्रहरीले उक्त महिलासँग पाकिस्तानका नम्बरहरू फेला पारेको दाबी गर्दै उनको सम्बन्ध पाकिस्तानसँग हुनसक्ने आशंका व्यक्त गरेको छ। ती चारै जना एक सातादेखि काठमाडौंमा बसेर बुधबार अवैध रूपमा भारत प्रवेश गर्न खोज्नुको कारण अझै अनुसन्धानको विषय बनेको छ।
भारतीय सेनाले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेपछि नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बल र एसएसबीले सुरक्षा कडाइ गरेका छन्। सीमा क्षेत्रमा नेपालबाट भारत जाने र आउने व्यक्तिहरूको कडाइका साथ निगरानी तथा परिचयपत्र जाँच भइरहेको छ।
यस घटनालाई भारतीय सुरक्षा निकायहरूले उच्च प्राथमिकतामा राखी अनुसन्धान गरिरहेको बताएका छन्।
