बिरगंज, १८ पुस।
पर्सा प्रहरीले सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ।
सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्याउँदै सार्वजनिक स्थानमा हो–हल्ला, वादविवाद तथा अभद्र व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पर्सा प्रहरीका अनुसार मिति २०८२ साल पुस १७ गते राति करिब १:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १० स्थित पुजन होटल अगाडिको सडकखण्डमा केही व्यक्तिहरूले अनावश्यक झगडा, चर्को हो–हल्ला र असभ्य व्यवहार गरी स्थानीय बासिन्दालाई त्रास र असहजता सिर्जना गरेका थिए। सोही सूचनाको आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले तत्काल घटनास्थल पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइने व्यक्तिहरूमा वीरगंज महानगरपालिका वडा नं. १५ का २१ वर्षीय सिन्धु प्रजा, १८ वर्षीय प्रमोद प्रजा, २० वर्षीय रौनक साह, २२ वर्षीय सुदिप कार्की तथा वडा नं. ११ का २३ वर्षीय सुजल बज्रचार्य रहेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। पर्सा प्रहरीले सार्वजनिक स्थानमा शान्ति भंग गर्ने, अभद्र तथा गैरकानुनी गतिविधिमा संलग्न हुने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै नागरिकलाई शान्ति–सुरक्षाको पालना गर्न आग्रह गरेको छ।
सार्वजनिक स्थलमा हुने यस्ता गतिविधिले सामाजिक सद्भाव र सुरक्षा व्यवस्थामा नकारात्मक असर पार्ने भएकाले यस्ता कार्यमा संलग्न नहुन सबैलाई सचेत रहन समेत पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले अनुरोध गरेका छन् ।
