मोरङमा शीतलहरबाट प्रभावित विपन्न नागरिकलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्धारा न्यानो कपडा वितरण

समाचार

मोरङ, १७ पुस ।
जाडो मौसममा बढ्दो शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको अवस्थामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्ने विपन्न तथा असहाय नागरिकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ।

मिति २०८२ साल पौष १६ गते आयोजित उक्त कार्यक्रममा शीतलहरबाट विशेष रूपमा प्रभावित गरिब, वृद्ध, महिला तथा बालबालिकालाई लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको हो। चिसोको कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका विपन्न वर्गका नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जाडो मौसममा शीतलहरले स्वास्थ्य र जनजीवनमा प्रत्यक्ष असर पार्ने भएकाले राज्यका निकायहरू मानवीय उत्तरदायित्वका साथ नागरिकको सेवामा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नेपाल प्रहरी केवल शान्ति सुरक्षा कायम गर्ने संस्थामात्र नभई विपद् तथा संकटको समयमा नागरिकको भरोसायोग्य साथीका रूपमा सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय नागरिकहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले भन्नुभयो, “शीतलहरजस्तो प्राकृतिक अवस्थाले सबैभन्दा बढी असर विपन्न तथा असहाय वर्गलाई पार्ने गर्दछ। यस्तो अवस्थामा राज्य र सुरक्षा निकायले मानवीय संवेदनशीलता देखाउँदै नागरिकको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी अधिकारीहरू, बुढीगंगा गाउँपालिकाका पदाधिकारी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो। न्यानो कपडा पाएपछि स्थानीय नागरिकहरूले प्रहरी महानिरीक्षक कार्की तथा नेपाल प्रहरीप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले जाडोयाममा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका थिए।
स्थानीय जनप्रतिनिधिहरूले नेपाल प्रहरीको यस मानवीय पहलको प्रशंसा गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे।

नेपाल प्रहरीको पहलमा सञ्चालन गरिएको उक्त न्यानो कपडा वितरण कार्यक्रमले शीतलहरबाट प्रभावित विपन्न समुदायमा राहत पुग्नुका साथै प्रहरी–नागरिक सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *