पर्सा, १८ पुस।
पर्सा प्रहरीले काठ चोरी तथा तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिँदै अवैध रूपमा सालको काठ प्रयोग गरी बनाइएका फर्निचर सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।
मिति २०८२।०९।१६ गते अपराह्न करिब २:३० बजे, जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २७ दरदर्वा स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा रहेको एक पिकअप गाडी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा पर्सागढी नगरपालिका वडा नं. ०४ निवासी करिब ४८ वर्षीय उपेन्द्र प्रसाद कुर्मीले ना.२ च २८३५ नम्बरको पिकअप गाडीमा लोड गरी ल्याएको अवैध रूपमा चोरी–तस्करी गरी तयार पारिएको सालको काठबाट बनेको फर्निचर सामग्री फेला परेको हो।
प्रहरीले अवैध फर्निचर सामग्री र सो प्रयोजनमा प्रयोग गरिएको पिकअप गाडी बरामद गर्दै चालक कुर्मीलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि मिति २०८२।०९।१७ गते आवश्यक कानुनी कारबाहीका लागि बरामद सामानसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई जिल्ला वन डिभिजन कार्यालय, पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभएको छ।
प्रहरीका अनुसार वनसम्बन्धी ऐन–कानुनको उल्लंघन गर्दै चोरी गरिएको सालको काठ प्रयोग गरी फर्निचर निर्माण तथा ओसारपसार गर्ने गतिविधि बढ्दै गएको हुँदा यस्ता अवैध कार्य नियन्त्रणका लागि निगरानी र गस्ती थप कडा बनाइएको छ।
बरामद गरिएका काठका फर्निचर सामग्रीहरू यस प्रकार रहेका छन् :
सालको चौक्स – २ पिस (२.८४ क्युविक फिट)
सालको झ्याल – २ पिस (५.३४ क्युविक फिट)
अधुरो बक्स प्लाई सेट – ३ पिस (११.७० क्युविक फिट)
अधुरो कुर्सी – ४ पिस (१.७२ क्युविक फिट)
डाइनिङ टेबल – १ पिस (२.४५ क्युविक फिट)
किचेन रेक/ह्याङ्गर – ३ पिस (२.४५ क्युविक फिट)
पर्सा प्रहरीले वन सम्पदाको संरक्षण तथा अवैध तस्करी नियन्त्रणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ। साथै, अवैध काठ कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिइएको छ।
