रौतहट, २६ वैशाख ।
रौतहटको कटहरिया नगरपालिका–४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरीको मोटरसाइकलसँग ठोक्किएर गम्भीर घाइते भएका एक स्थानीय बासिन्दाको उपचारका क्रममा मृत्यु भएको छ।
बुधवार दिउँसो पुलको पूर्वतर्फ करिब २०० मिटरको दूरीमा सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भारतीय नम्बर प्लेट (BR 30 07936) भएको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका फतुवा विजयपुर–४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादवको गण्डक अस्पताल, वीरगञ्जमा उपचारको क्रममा गएराति निधन भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ।
घटनाबारे हालसम्म कुनै लिखित उजुरी नपरेको प्रहरीले जनाएको छ। उजुरी प्राप्त भएपछि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने प्रवक्ता रायले बताए।
उक्त दुर्घटनाको विषयमा आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संसदमा आवाज उठाएका छन्। उनले तस्कर नियन्त्रणको नाममा सशस्त्र प्रहरीले जबरजस्ती दुर्घटना गराएको भन्दै दोषीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गरेका छन्।
घटनाको पृष्ठभूमिमा बुधवार अपरान्ह ३:३० बजे भन्सार छलीको सामान बोकेको ग ४प ४०७३ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा त्यसले सशस्त्र प्रहरीबाट बच्न तीव्र गतिमा भागेको थियो। त्यसपछि सशस्त्र प्रहरीले बा ८४ प ७३८३ नम्बरको मोटरसाइकलमा पछ्याउँदा भारतीय मोटरसाइकलसँग आमनेसामने ठोक्किएको हो।
दुर्घटनापछि घाइते भएका ४० वर्षीय जिनिस साह सामान्य चोटसहित बाँचेका छन् भने आक्रोशित स्थानीयहरूले घटनास्थलमा सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए।
स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओमप्रकाश यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो। घटनास्थलबाट तीनवटै मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मधेस प्रदेश सशस्त्र प्रहरी प्रवक्ता एसएसपी सुरजसेन ओलीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाउँदै, अनुसन्धानको निष्कर्षअनुसार कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।
