रसीद आलम ।
वीरगञ्ज, १ जेठ – मधेस प्रदेशमा हालै नियुक्त सशस्त्र प्रहरी बलका डिआईजी कृष्ण ढकालले तस्करी नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउँदै पर्सा जिल्लामा सक्रिय तस्करी सञ्जाल ध्वस्त पारेका छन्।
पूर्व वाहिनिपती डिआईजी कालिदास धौवजीले सुरु गरेको कडाइ र प्रतिबद्धता ढकालले निरन्तरता दिँदै, सीमामा भइरहेको अवैध कारोबारलाई जराैंदेखि नियन्त्रण गर्न तीव्रता दिएका छन्। उनले सिमानाकामा अवैध गतिविधि नियन्त्रण गर्दै जनताको सुरक्षा र जनधनको रक्षाका लागि कुनै सम्झौता नगर्ने अडान सार्वजनिक गरेका छन्।
डिआईजी ढकालले मातहतका कुनै पनि कर्मचारी वा अधिकारी तस्करी वा गैरकानुनी क्रियाकलापमा संलग्न भेटिएमा कडा कारबाही गर्ने स्पष्ट चेतावनी दिएका छन्। खुला सिमाना, सीमित स्रोत र चोर बाटोका बाबजुद पनि सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ।
पछिल्लो सातामा मात्रै सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छलिका लाखौं मूल्यका सामग्री नियन्त्रणमा लिएको छ।
जेठ १ गते मात्रै सशस्त्र प्रहरी बल पर्साले १३ लाख ५८ हजार ४ सय रुपैयाँ बराबरको मकै र ट्याक्टर नियन्त्रणमा लिएको छ। यस्तै, डिएसपी कृष्ण सिंह पुजाराको नेतृत्वमा सशस्त्रको टोलीले ४ लाख ८९ हजार ७५० रुपैयाँको कपडा, किराना सामग्री र मोटरसाइकल बरामद गरी भन्सारमा बुझाएको छ।
यसअघि बैशाख ३१ मा एसपी राधेश्याम धिमालको कमान्डमा अवैध रूपमा ल्याइएको २ लाख ३१ हजार २० रुपैयाँ बराबरको गहुँ र चामल नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालय बुझाइएको थियो।
त्यसै दिन डिएसपी लोकेन्द्र सुब्बाको टोलीले यात्रुवाहक बसबाट लाखौं रुपैयाँको कपडा बरामद गरेको थियो।
बैशाख ३० मा पनि डिएसपी पुजाराको नेतृत्वमा ५ लाख १ हजार ४ सय रुपैयाँ बराबरको अवैध कपडा र मोटरसाइकल नियन्त्रणमा लिई भन्सारमा दाखिला गरिएको थियो।
डिआईजी ढकालको कडा नेतृत्वमा मधेस प्रदेशमा सशस्त्र प्रहरी बल थप अनुशासित र सक्रिय बनेको र तस्करी नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको सुरक्षा स्रोतले जनाएका छन्।
