रसीद आलम पर्सा, जेठ २५ ।
जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार बहुदरमाई नगरपालिकाको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यता तथा बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिहासन साह तेलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न तह र तप्काका जनप्रतिनिधि, सुरक्षा निकाय, समाजसेवी, पत्रकार तथा सर्वसाधारण गरी करिब १५० जना सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन नागरिकका समस्याप्रति गम्भीर रहेको जनाउँदै ती समस्याको तत्काल समाधानका लागि आफू प्रतिवद्ध रहेको बताए। उनले भने, “जिल्ला प्रशासन कार्यालयमा कुनै काम गर्न जाँदा समस्या परेमा मलाई सिधै फोन गर्नुहोस्, म तुरुन्त समाधान गर्छु।”
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पर्सावासीप्रति अनुरोध गर्दै भने, “तपाईंहरुको समस्या सुन्न प्रहरी छ। मलाई प्रत्यक्ष रुपमा भेटेर समस्या राख्नुस्, तुरुन्तै कारवाही हुन्छ।” उनले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न कुनै सम्झौता नगरिने पनि स्पष्ट पारे।
एसपी मिश्रले लागुऔषध दुव्र्यसन तथा कारोबारमा संलग्नहरूमाथि कडा कारवाही हुने चेतावनी दिए। “यदि तपाईंहरूसँग लागुऔषध दुव्र्यसनसम्बन्धी कुनै सूचना छ भने दिनुहोस्, सेवनकर्तालाई कानुनी दायरामा ल्याउने जिम्मा मेरो हो,” उनले प्रष्ट पारे।
कार्यक्रममा बहुदरमाई नगरपालिकाका नगर उप-प्रमुख शुष्मा कुमारी कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वडा अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमले जिल्लावासी नागरिक र सरोकारवालाबीच प्रत्यक्ष संवाद र विश्वासको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन्।
