नगवा वासीलाइ ठूलो राहत: वीरगञ्ज महानगरपालिका–१६ को मेन रोड ढलान कार्य सम्पन्न, जनजीवन सहज

समाचार

वीरगञ्ज, २९ जेठ — वीरगञ्ज महानगरपालिका वडानं १६ अन्तर्गत पर्ने नगवाको मुख्य सडक (मेन रोड) को ढलान कार्य सम्पन्न भएको छ। वर्षायाममा पानी जमेर सडक टुट्ने, हिलो तथा अवरोधका कारण जनजीवन कष्टकर बन्ने समस्याको अन्त्य गर्दै सो सडकको ढलान भएपछि स्थानीयवासीहरू निकै हर्षित भएका छन्।

वर्षौंदेखि बेवास्तामा परेको उक्त सडक अन्ततः वडा अध्यक्ष प्रशुराम चौरसियाको सक्रिय पहलमा निर्माण सम्पन्न भएको हो। निर्माण सम्पन्न भएसँगै स्थानीयले ढुक्कसँग हिँडडुल गर्न पाएका छन् भने व्यापार व्यवसाय तथा सवारी आवागमन पनि सहज बनेको छ।

स्थानीयवासीहरूको अनुसार, वडाध्यक्ष चौरसिया लोकप्रिय, प्रतिबद्ध र जनमुखी नेतृत्वका रूपमा चिनिएका छन्। उनले निर्वाचनको बेला जनतालाई गरेका विकाससम्बन्धी वाचाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेका छन्। सडक ढलानले नगवाको मुहार फेरेको महसुस स्थानीयले गरेका छन्।

स्थानीय नुर मियाका अनुसार, “वडाध्यक्ष चौरसियाको कार्यशैली अत्यन्तै सराहनीय छ। उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता आधारभूत क्षेत्रका विकासमा समेत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ।”

चौरसियाले खानेपानी अभाव झेलिरहेका बासिन्दालाई घर–घरमा पानीको उपलब्धता गराएका छन्। साथै वडामा कोही पनि व्यक्ति संकटमा परेको थाहा पाउनासाथ उनी आफैं पुगेर सक्दो सहयोग गर्छन्। सहयोगी हातहरूलाई समेत समन्वय गर्दै समाजसेवामा क्रियाशील रहँदै आएका छन्।

विकास कार्यप्रति जनताको विश्वास जित्न सफल वडाध्यक्ष चौरसियाले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गर्दै लेखेका छन्, “जनताको चाहना अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाको मेन रोड ढलान सम्पन्न भएकोमा खुशी लागेको छ। साथै, यस कार्यमा सहकार्य गर्नुहुने प्रदेश नं. २ का पूर्व मुख्यमन्त्री माननीय लालबाबु राउत ज्युलाई विशेष धन्यवाद प्रकट गर्दछु।”

वडाबासीको दीर्घकालीन माग र आवश्यकतालाई सम्बोधन गर्दै गरिएको यो सडक निर्माण कार्यले अबको दिनमा अन्य विकास योजनाहरूको मार्गप्रशस्त गर्ने स्थानीयहरूको विश्वास रहेको छ।

यसरी, नगर विकासको बाटोमा एउटा महत्वपूर्ण पाइला अगाडि बढाउँदै वडाध्यक्ष चौरसिया नेतृत्वको वडा नं. १६ मा सकारात्मक परिवर्तन देखिन थालेको छ। जनप्रतिनिधि र जनताको सहकार्यले सम्भव भएका यस्ता विकास योजनाहरूले वीरगञ्जको विकास यात्रालाई थप गति दिनेमा कुनै शंका छैन।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *