उत्तराखण्ड, भारत -१ असार । भारतको उत्तराखण्ड राज्यस्थित पवित्र धार्मिक स्थल केदारनाथ नजिकै भएको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ७ जनाको ज्यान गएको छ। आइतबार बिहान देहरादूनबाट केदारनाथतर्फ जाँदै गरेको हेलिकप्टर पहाडी क्षेत्रमा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो।
भारतका विभिन्न सञ्चारमाध्यमका अनुसार हेलिकप्टरमा ६ जना तीर्थयात्रीहरू सवार थिए भने चालकसहित सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। प्रारम्भिक जानकारी अनुसार खराब मौसमका कारण हेलिकप्टरको दृश्य अवरोध भएर पहाडमा ठोक्किएको बताइएको छ।
दुर्घटनापछि स्थानीय प्रशासन, उद्धार टोली र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्यमा खटिएका छन्। हाल दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।
केदारनाथ हिन्दू धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष हजारौं भक्तजन दर्शनका लागि पुग्ने गर्दछन्। दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलाइएको छैन। भारतीय नागरिक उड्डयन प्राधिकरणले घटनाको छानबिन सुरु गरेको जनाएको छ।