वीरगञ्ज, १ असार । वीरगञ्ज महानगरपालिकाबाट प्रवाह हुँदै आएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा अब पुनः जिल्ला प्रशासन कार्यालय, पर्सामा केन्द्रित हुने भएको छ।
नगर कार्यपालिकाको कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशनहरूबाट सेवा प्रभावकारी रूपमा नपुगेको जनगुनासो निरन्तर प्राप्त हुँदै आएपछि, सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
यसअनुसार वीरगञ्ज महानगरपालिकामा रहेका दुईवटा दर्ता स्टेशनलाई स्थानान्तरण गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुनः स्थापना गरिने छ। आइतबार अर्थात आज २०८२ साल असार १ गते (जुन १५, २०२५) देखि लागू हुने गरी सेवा सञ्चालन गरिनेछ।
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेलद्वारा जारी सूचनामा सबै सरोकारवाला र सेवाग्राहीहरूलाई जानकारी गराउँदै आवश्यक कार्यका लागि सहयोग गर्न अनुरोध गरिएको छ।
