बारा, १० असार । भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको हार्डवेयर तथा सिद्रा माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित वीरगञ्ज-पथलैया सडकखण्डअन्तर्गत लल्कापुलमा आज बिहान करिब ८ः४० बजे सशस्त्र प्रहरी बल बारा मातहतको सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमाण्डमा खटिएको सात जनाको गाडी मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बसको डिक्कीभित्र लुकाइ ल्याइएको अवैध सामान बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार सो बसबाट अन्दाजी रु. ७६,७७२ मूल्यको हार्डवेयर सामान तथा अन्दाजी रु. ३०,००० मूल्य बराबरको ६० किलोग्राम सुकेको सिद्रा माछा गरी कुल रु. १,०६,७७२ बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाईएको हो।
सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले कडाइका साथ निगरानी बढाएको जनाएको छ। उक्त सामान सशस्त्र प्रहरी बेस जितपुरमा राखिएको छ भने आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
यसरी अवैध सामान ओसारपसार गर्ने गिरोहविरुद्ध सशक्त निगरानी गर्दै आउने दिनहरूमा पनि यस्तै प्रकृतिका गतिविधिहरू नियन्त्रण गर्न सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको डिएसपी ठकुल्लाले बताए ।