(अपराध नियन्त्रण, अनुसन्धान, उद्धार र सीमावर्ती सुरक्षामा देखिएको उत्कृष्ट कार्यप्रति उच्च मूल्याङ्कन)
सर्लाही, असार ३०।
जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत इलाका प्रहरी कार्यालय, कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) सुभाष यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित भएका छन्।
असार महिनाभरि सर्लाही जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान, उद्धार कार्य तथा सीमावर्ती सुरक्षा व्यवस्थापनमा उनले देखाएको उत्कृष्ट कार्य प्रदर्शनको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई यो सम्मान प्रदान गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगले कार्य सम्पादन गरेकाले यादवलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।
उत्कृष्ट प्रहरी छनोट समितिको मूल्यांकनअनुसार यादवले भारतको बिहारस्थित सोनबर्षा थानासँगको समन्वयमा १७६ थान नक्कली नेपाली रुपैयाँ, २० थान थप नक्कली नोट, १ नलकटुवा पेस्तोल, १० राउण्ड गोलीसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएका थिए। त्यस्तै, भारतको बसतपुरमा बन्धक बनाइएका बागमती नगरपालिका–१० का १८ वर्षीय शेख जयसको सकुशल उद्धार समेत गर्न सफल भएका थिए।
यसैगरी, १० किलो गाँजासहित २ जना, Winrex 100 ml औषधिसहित मोहन खत्री र उनकी पत्नी तथा घरमै गाँजा प्याक गरी बेच्दै गरेका १६ किलो गाँजासहित मानबहादुर भन्ने व्यक्तिलाई पक्राउ गरिएको थियो।
विभिन्न मितिमा करिब ४ करोड ३६ लाख रुपैयाँ बराबरको अवैध सामानसहित १० ट्रक पथलैया भन्सार कार्यालय पठाइएको र ८२० किलो काजु भुसमा लुकाई लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
भारतबाट हालसम्म २९ जना बालबालिकाको उद्धार गरिएकामा असार महिनामा मात्रै ४ जना तत्काल उद्धार गरिएका थिए। साथै, फरार रहेका जघन्य अपराधमा संलग्न १८२ जना प्रतिवादीलाई पक्राउ गरी अदालती प्रक्रिया अघि बढाइएको छ।
घरेलु हिंसा, बालअधिकार, लैङ्गिक हिंसा तथा ठाडो उजुरीमा समेत संवेदनशीलता अपनाउँदै पीडित केन्द्रित कार्य सम्पादन गरेका यादवको कामको सराहना गरिएको छ।

गत वर्ष उनलाई तत्कालीन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ‘उत्कृष्ट अनुसन्धानकर्ता’को उपाधिबाट सम्मान गरेका थिए। उनको इमान्दारिता, सक्रियता र समाजप्रतिको उत्तरदायित्वले नेपाली सुरक्षा क्षेत्रको गौरव बढाएको प्रहरी कार्यालयको ठहर छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र खड्काको सिफारिसमा प्र.ना.नि. सुभाष यादवलाई २०८२ सालको असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको हो।
