अनलाइन ट्राफिक सचेतना कक्षाको गृहमन्त्रीद्वारा शुभारम्भ, प्रविधिमैत्री प्रहरी सेवाको नयाँ अध्याय

समाचार

काठमाडौं, असार ३०।
गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा अनलाइन ट्राफिक सचेतना कक्षाको औपचारिक शुभारम्भ गर्नुभएको छ।

सो अवसरमा गृहमन्त्री लेखकले ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन योगदान पु-याएका Trileaf Technology प्रालिज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले नेपाल प्रहरीले आफ्ना कार्यक्षेत्रहरूमा प्रविधिको प्रयोग गर्दै आएको कार्य अत्यन्तै सराहनीय भएको बताउनुभयो। उहाँले ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिलाई अब नागरिक एपमार्फत अनलाइन सचेतना कक्षा लिन सकिने व्यवस्था सुरुआत गरिएको जानकारी दिँदै यसले प्रहरी सेवामा नयाँ प्रविधिको आयाम थपिएको उल्लेख गर्नुभयो।

गृहमन्त्रीले प्रहरी नागरिकका बीच लोकप्रिय बन्दै गएको, जनताको भरोसा बढ्दै गएको चर्चा गर्दै शिष्ट व्यवहार र आचरणका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। प्रविधिको प्रयोग कहिलेकाहीँ चुनौतीपूर्ण बन्न सक्ने हुँदा सावधानीपूर्वक प्रयोग गर्नुपर्ने सुझाव पनि दिनुभयो।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी सेवामा प्रविधिको प्रयोग अत्यावश्यक भएको भन्दै अनलाइन ट्राफिक सचेतना कक्षालाई प्रहरी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने दिशातर्फको अर्को महत्वपूर्ण पाइला भएको बताउनुभयो। उहाँले ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगले सडक दुर्घटना न्यूनीकरण, कार्य क्षमता वृद्धि र सेवा सुधारमा प्रभावकारी योगदान दिएको उल्लेख गर्नुभयो। साथै, अनलाइन कक्षाबाट सेवाग्राहीलाई सहज हुने भए तापनि लापरवाही हुन नदिन विशेष सजकता अपनाउनुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य दिनुभएको थियो भने ज्ञानबजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभयो।

समारोहमा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरीका उच्च अधिकारीहरू, सूचना प्रविधि विज्ञ, सञ्चारकर्मीहरू तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।

नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाह गर्दै नागरिकको सेवा र सुरक्षामा नयाँ युगको थालनी गरेको यो पहलले ट्राफिक सचेतनालाई सहज, सुलभ र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *