बारा, असार ३०।
बारा प्रहरीले फरार प्रतिवादीहरू पक्राउ गर्ने अभियानलाई तीव्रता दिँदै आएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङको सक्रिय र प्रभावकारी नेतृत्वमा पछिल्ला दिनहरूमा निरन्तर रुपमा फरार अभियुक्तहरू पक्राउ भइरहेको छन्।
यसै क्रममा, मिति २०८२ साल असार २९ गते बिहान करिब ८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका व्यक्ति जिल्ला बारा, निजगढ नगरपालिका–०१, सिंगौल गाउँ निवासी अन्दाजी ४३ वर्षीय भरत चौलागाई रहेका छन्। उनी अग्नी प्रसाद चौलागाईका छोरा हुन्।
भरत चौलागाईविरुद्ध काठमाडौं जिल्ला अदालत बबरमहलबाट मिति २०८२ असार १८ गते पक्राउ पुर्जी जारी भएको थियो। उनीविरुद्ध झण्डै १ करोड ३२ लाख रुपैयाँ बराबरको बैंकिङ्ग कसुर मुद्दा रहेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा निजगढ नगरपालिका–०१ स्थित गाउँ क्षेत्रमा घुमफिर गरिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछी आवश्यक प्रक्रिया पुर्याई उनलाई प्रहरीको जिम्मा लगाई सिमरा विमानस्थलमार्फत हवाई मार्गद्वारा काठमाडौं पठाइएको र त्यहाँको प्रहरी परिसरमा बुझाइएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका निर्मित्त सूचना अधिकारी प्रहरी निरीक्षक खेम प्रसादले दिएका छन्।
बारा प्रहरीले पछिल्लो समय फरार अभियुक्तहरूको खोजतलास र पक्राउमा देखाएको तत्परताले आम नागरिकमा प्रहरी प्रशासनप्रति भरोसा बढेको देखिन्छ। एसपी तामाङको नेतृत्वमा भएको यस्तो अभियानले कानुनी राज स्थापना गर्ने दिशामा सकारात्मक संकेत दिएको बताइन्छ।
