बारा, साउन ११ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालय सिमराको टोलीले अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेद प्रकाश जोशीको नेतृत्वमा खटिएको चेकजाँच टोलीले हेटौंडाबाट निजगढतर्फ जाँदै गरेको ना.२२ प ३८३४ नम्बरको मोटरसाइकललाई साउन ११ गते दिउँसो करिब १२:०० बजे शंका लागी रोकेर जाँच गर्दा मोटरसाइकल चालक मकवानपुर जिल्ला, बकैया गाउँपालिका–७ बस्ने २६ वर्षीय गोपिलाल विश्वकर्माको साथबाट कुनै प्रकारको बिल नदेखाई लुकाई छिपाई राखिएको सुन बरामद गरिएको हो।
प्रहरीका अनुसार गोपिलालले बोकेको झोलाबाट विभिन्न प्रकारका सुनका गहना बरामद गरिएको छ, जसमा जम्मा १०८.८ लाल वा १२.६९० मिलिग्राम बराबरको सुन रहेको छ।
नियन्त्रित विश्वकर्मालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा ल्याइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
