भ्रम नछरौँ, भ्रमित नपारौँ : पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष बन्जारा

समाचार

जनकपुरधाम, ५ भदौ ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले हालै जनकपुरधाममा भएको जग्गा विवादबारे स्पष्ट पार्दै “महासंघले फ्रीमा जग्गा दिएको होइन, यो सबै कानुनी प्रक्रिया पूरा गरेर लिइएको लिज हो” भन्दै भ्रम नफैलाउन सामाजिक संजाल मार्फत आग्रह गर्नुभएको छ ।
लिज सम्झौताबाट सुरु भएको विवाद
अध्यक्ष बन्जाराका अनुसार, महासंघको कार्यसमिति निर्वाचित भएपछि जग्गा व्यवस्था र भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको थियो । लामो प्रयासपछि जनकपुरधाम उपमहानगरपालिका–४ मा अवस्थित ४ कट्ठा बहुमूल्य जग्गा गुठी संस्थानसँग वार्षिक ३ लाख १ हजार १ सय भाडा बुझाउने गरी २० वर्षका लागि लिजमा २०८२ साउन १९ गते प्राप्त गरिएको हो ।
तर, त्यसको भोलिपल्टै जनकपुर बारले सो जग्गाको आधा भाग पार्किङका लागि आवश्यक पर्ने भन्दै दाबी गरेपछि विवाद सुरु भएको हो । २० साउनमा बारले आफ्ना वकिल साहेबका सवारी साधन २१ साउनदेखि त्यही जग्गामा पार्किङ हुने सूचना जारी गर्दा महासंघ स्तब्ध भएको अध्यक्ष बन्जाराले उल्लेख गर्नुभयो ।
विवाद चर्किँदै हिंसात्मक मोडमा
साउन २५ गते बारका तर्फबाट सो जग्गामा २० वटा सिमेन्टका पोल गाडिएपछि अवस्था थप जटिल भएको थियो । त्यसपछि वीरगन्जबाट जनकपुर पुगेका अध्यक्ष बन्जारासहित महासंघका पदाधिकारी, स्थानीय पत्रकार र बारबीच बहस भए पनि सहमति जुटेन ।
अध्यक्ष बन्जाराले भने, “समस्या गम्भीर भएपछि हामी सिडिओ र प्रहरी प्रमुखलाई जानकारी गरायौँ, उहाँहरूले संवादमार्फत समाधान गर्ने आश्वासन दिनुभयो, तर व्यवहारमा त्यस्तो पहल भएन।”
२०८२ साउन २७ गते पत्रकार सम्मेलनपछि तारबार गर्ने क्रममा अचानक स्काभेटर ल्याइएपछि स्थिति झन् उग्रियो । स्काभेटर रोक्ने क्रममा दुई पक्षबीच भनाभन, गालीगलौज हुँदै झडपसम्म पुग्दा महासंघका पदाधिकारीसहित ६ जना पत्रकार घाइते भएका थिए ।
पत्रकार घाइते, अदालतको आदेश
घटनामा अध्यक्ष बन्जाराको खुट्टामा चोट लाग्यो, महासचिवको खुट्टा भाँचियो, दिवाकर रायको टाउकोमा गम्भीर चोट लाग्यो भने ज्योति झा, बिनिता यादव, अनिल कुमार निराला घाइते भए ।
त्यही दिन दिउँसो ४ बजे अदालतबाट समन आइपुग्यो जसअनुसार सो जग्गामा कुनै निर्माण कार्य नगर्न अन्तरिम आदेश जारी गरिएको थियो । अझ आश्चर्यजनक कुरा, उक्त आदेशमा ६२ जना वकिल साहेबहरूको नाम उल्लेख गरिएको थियो ।
कानुनी लडाइँ र आन्दोलन
अध्यक्ष बन्जाराले भने, “एकातिर उपचार, अर्कोतिर कानुनी बाटो, अनि जग्गा संरक्षण — हामीलाई असाध्यै कठिन परिस्थिति सिर्जना भयो । ६२ जना वकिलसँग कानुनी लडाइँ वर्षौँ लम्बिन सक्ने र महासंघ घरजग्गाविहीन बन्न सक्ने डर छ ।”
महासंघले घाइते पत्रकारमाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिएको भए पनि सुनुवाइ नभएको गुनासो गरेको छ । बारम्बार सिडिओ, एसपीदेखि डिआईजीसमक्ष धाउँदा पनि निराशा मात्रै हात लागेको अध्यक्ष बन्जाराले बताए ।
संवादतर्फ अग्रसरता
घटनापछि नेपाल पत्रकार महासंघ केन्द्रीय मिशन टोलीले पहल गर्दै बारसँग संवादमार्फत समाधान खोज्ने काम अघि बढाएको छ । सहमतिअनुसार महासंघले आफ्ना जग्गाको पछाडिको भागमार्ग १५ फिट चौडा बाटो उपलब्ध गराउने, सो बाटो प्रयोग गरी नेपाल बारले पार्किङ स्थल पाउने र त्यसको वार्षिक ८० हजार रुपैयाँभन्दा बढी भाडा महासंघलाई बुझाउने व्यवस्था भएको अध्यक्ष बन्जाराले जानकारी दिनुभयो ।
आत्मनिर्भर बन्ने योजना
महासंघले आफ्नो लिजमा रहेको अगाडिको भागमा झण्डै २०–३० वटा व्यवसायिक सटर बनाएर भाडामा दिने योजना अघि सारेको छ । यसबाट महासंघ आत्मनिर्भर हुने र सुविधा सम्पन्न भवन निर्माणपछि पनि प्रशस्त जग्गा बाँकी रहने अध्यक्ष बन्जाराले स्पष्ट पार्नुभयो ।
धन्यवाद ज्ञापन र प्रतिबद्धता
अध्यक्ष बन्जाराले जनकपुर घटनाको संवेदनशीलताप्रति चिन्ता व्यक्त गर्दै, सहयोग गर्ने FNJ केन्द्रीय मिशन, केन्द्रीय समिति, बार वार्ता टोली, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता, विभिन्न संघ–संस्था, नगरप्रमुख, आन्दोलनमा सहभागी पत्रकार, सल्लाहकार, सञ्चारकर्मी र प्रदेश कमिटीका पदाधिकारीप्रति आभार व्यक्त गर्नुभयो ।
“घाइते भएका साथीहरू नै हाम्रो शक्ति हुन्, उहाँहरूको आत्मामा चोट पुगेको छ, महासंघको प्रतिष्ठा हरण भएको छ । तर हामी रोकेका होइनौँ, केवल मुटुमाथि ढुङ्गा राखेर विश्राम दिएका छौँ । सत्य र न्यायको लडाइँले अन्ततः उज्यालो ल्याउनेछ,” अध्यक्ष बन्जाराले भनाइमा जोड दिनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *