पर्सा, भदौ ११ ।
भर्खरै सरुवा भएर पर्सा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले जिल्लामा इमानदारीपूर्वक सुधारको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
मङ्गलवार जिल्लामा कार्यभार सम्हालेपछि स्थानीय सञ्चारकर्मीहरूसँगको भेटघाटमा सिडिओ सुवेदीले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चालेको जानकारी दिए ।
उनले राष्ट्रिय परिचयपत्र, नागरिकता तथा प्रतिलिपि वितरण प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउन निर्देशन दिइसकेको उल्लेख गर्दै भने, “अब कर्मचारीलाई बहानामा काम नगर्ने छुट छैन ।”
कार्यालयमा बिचौलियाहरू हाबी भएको गुनासोबारे पत्रकारहरूले उठाएको प्रश्नमा सिडिओ सुवेदीले कार्यालयलाई पूर्ण रूपमा बिचौलिया मुक्त बनाउने दृढता व्यक्त गरे ।
यस्तै चाडपर्व तथा विभिन्न धार्मिक रैलिमा सामुदायिक सद्भाव भड्किन नदिन समयमै सरोकारवाला निकायसँग समन्वयात्मक बैठक बसेर पूर्व तयारी गर्ने योजना रहेको उनले बताए ।
वीरगञ्जमा हाल फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सबै निकायलाई सक्रिय बनाइएको उल्लेख गर्दै उनले भने, “हैजालाई नियन्त्रण गर्ने हाम्रो संयुक्त प्रयास जारी छ । हातेमालो गरेर अगाडि बढ्छौँ ।”
यसरी पर्साका नयाँ सिडिओ सुवेदीले सेवा प्रभावकारी बनाउने, बिचौलियामुक्त कार्यालय सुनिश्चित गर्ने र महामारी नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन्।
