पर्सा, ९ असोज।
पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वास्थित गाउँपालिका कार्यालय पश्चिमपट्टि जयमंगलापुर जाने बाटोमा अन्दाजी १६ वर्षीय गोलु अस्लममाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।
असोज ९ गते साँझ करिब ७ बजे पाँच जनाको समूहले अस्लमलाई बायाँ खुट्टाको तिघ्राभन्दा माथि गोली हानेर फरार भएको प्रहरीले जनाएको छ।
घाइते अस्लमलाई तत्काल छिपहरमाई गाउँपालिकाको एम्बुलेन्समार्फत साँझ ७:४० बजे उपचारका लागि बिरगंजस्थित नारायणी अस्पताल लगिएको हो।
घटनापछि बिओपी भिष्वाबाट सशस्त्र प्रहरी निरीक्षक रोशन सिर्नेटको कमाण्डमा पाँच जनाको टोली र प्रहरी चौकी भिष्वाबाट प्रहरी नायब निरीक्षक सञ्जीव तामाङको नेतृत्वमा तीन जनाको संयुक्त टोली परिचालन भई फरार आक्रमणकारीहरूको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साले जनाएको छ।
