पर्सामा सशस्त्र प्रहरीले तोड्यो लागुऔषध तस्करी संजाल ९ किलोभन्दा बढी चरेशसहित भारतीय युवक पक्राउ

समाचार

पर्सा, १३ असोज।
सशस्त्र प्रहरीले पर्सा जिल्लामा लागुऔषध तस्करी संजालमाथि ठूलो प्रहार गर्दै ठूलो मात्रामा चरेशसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

फल्स बटममा लुकाइ ल्याइएको चरेश

असोज १३ गते बेलुकी करिब ६ बजे पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–४, बन्जारीस्थित भिष्वा–जानकी टोला सडकखण्डमा नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण, मुख्यालय पर्साबाट खटिएको मोबाइल टोलीले सो सफलता हात पारेको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक (स.प्र.स.नि.) नितेश कुमार साह कानुको कमाण्डमा खटिएको सात जनाको टोलीले BR 22 J 3550 नम्बरको होण्डा साईन मोटरसाइकल (इञ्जिन नं. JO36E-9208449, च्यासिस नं. ME4JC366E8811828) रोकि तलासी गर्दा फल्स बटम बनाई लुकाइ ल्याइएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको हो। उक्त चरेश १९ वटा प्लास्टिक प्याकेटमा प्याक गरी लुकाइएको पाइएको प्रहरीले जनाएको छ।

भारतीय युवक पक्राउ

सो क्रममा भारतको विहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया नगरपालिका–३७ कोईरी टोल बस्ने ३१ वर्षीय गुलाम मोहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले लागुऔषध नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले मोटरसाइकलमार्फत लैजाँदै गरेका थिए।

कारबाही प्रक्रिया अघि बढ्दै

सशस्त्र प्रहरी बल पर्साका गणपति प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले बरामद चरेश र पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
त्यस्तै, प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखी सशस्त्र प्रहरी बल निरन्तर सक्रिय रहेको बताए।

चाडपर्वलाई लक्षित गरी निगरानी कडा

एसपी भट्टका अनुसार चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा चोरी, तस्करी र लागुऔषध कारोबारमा संलग्न समूहहरू सक्रिय हुने भएकाले सशस्त्र प्रहरीले निगरानी र चेकजाँच थप कडा बनाएको छ। यसअघि पनि पर्सा क्षेत्रमा सशस्त्र प्रहरीले पटक–पटक लागुऔषधसहित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *