पर्सा, असोज १३ ।
बडा दशैंअन्तर्गतको महत्वपूर्ण पर्व फूलपाती सोमबार परम्परागत रूपमा वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शोभायात्रामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरू, विभिन्न संघसंस्था र सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको थियो।
बाजागाजासहितको शोभायात्रा वीरगञ्जस्थित गहवामाई मन्दिर प्राङ्गणसम्म पुगेपछि स्वस्ति शान्ति पूजा गरी नवदुर्गा भगवतीमा तीनै सुरक्षा निकायको तर्फबाट सलामी अर्पण गरिएको थियो। यस अवसरमा गहवामाई मन्दिरमा फूलपाती भित्र्याउने कार्य परम्परागत विधिअनुसार सम्पन्न गरिएको हो।
कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी सुवेदी र सुरक्षा निकायका प्रमुखहरूले पर्सेली नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै आगामी दिनमा पनि जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सबैको सहयोग आवश्यक रहेको बताएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको वक्तव्यमा भनिएको छ, “शान्ति सुरक्षा अहिले हाम्रो प्रमुख चासो र सरोकार हो। सम्पूर्ण नागरिकले भयरहित वातावरणमा खुशीसाथ चाडपर्व मनाउन सकून् भन्ने हाम्रो अपेक्षा रहेको छ।”
