काठमाडौँ, असोज १४ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत १३ सय वर्ष पुरानो महाँकाल मन्दिर पुनःनिर्माण कार्य औपचारिक रूपमा सुरु भएको जानकारी दिएका छन् । टुडिखेल छेउमा रहेको महाँकाल मन्दिर केवल काठ, इटा र ढुङ्गाको संरचना मात्र नभई हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यो मन्दिर विभिन्न कारणले लामो समयसम्म पुनःनिर्माण हुन सकेको थिएन । अन्ततः २०८०/८१ को बजेटमा रकम विनियोजन भई २०८१ असार १९ गतेबाट पुनःनिर्माण कार्य सुरु भएको हो ।
🔹 लागत: रु. १० करोड ५ लाख
🔹 निर्माण अवधि: ३ वर्ष (२०८१ असार १९ देखि २०८४ असार १९ सम्म)
🔹 क्षेत्रफल: ५८३.८१ वर्गमिटर
पुनःनिर्माणपछि मन्दिरमा भुइँतलामा ९ कोठा, पहिलो तलामा सभाकक्ष र भण्डारण कक्ष, छानामा परम्परागत बुइँगल र झिँगटी टायल, कलात्मक ढोका–झ्याल, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहनेछ । मेयर शाहका अनुसार, यो परियोजना केवल पुनःनिर्माण नभई संस्कृतिको पुनर्जागरण हो ।
यससँगै महिला फुटबललाई समर्पित साना गौचरन रंगशाला को पुनःनिर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढाइएको छ । काठमाडौँ–५ मा रहेको उक्त रंगशाला १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माण गरिरहेको हो ।
२०८१ मंसिरमा सुरु गरिएको निर्माण कार्य २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
स्टेडियममा ९६×६२ मिटरको आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँसयुक्त खेलमैदान, वरिपरि सिमापर्खाल, २८ वटा चारपाङ्ग्रे र १७८ वटा दुईपाङ्ग्रे सवारी अट्ने पार्किङ सुविधा रहनेछ । साथै, रंगशालाको भुइँतलामा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा, पहिलो तलामा महिलाका लागि ७ र पुरुषका लागि ५ वटा शौचालय निर्माण गरिनेछ ।
महानगरले विद्यालयका खेलमैदानदेखि सार्वजनिक खेलस्थलसम्म स्तरउन्नतीमा ध्यान दिएको मेयर शाहले उल्लेख गरेका छन् ।
महाँकाल मन्दिर र महिला फुटबलका लागि समर्पित रंगशालाको पुनःनिर्माणसँगै काठमाडौँको सांस्कृतिक सम्पदा र खेल पूर्वाधार दुबै क्षेत्रमा ऐतिहासिक उपलब्धि हुने अपेक्षा गरिएको छ ।
