काठमाडौं,१८ असोज । नेपाल सरकारले असोज १९ र २० गतेलाई सार्वजनिक विदा घोषणा गरे पनि प्रतिकूल मौसम र विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विशेष निर्देशन जारी गरेको छ ।

प्रधान कार्यालयले विजया दशमीको अवसरमा विदामा रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई असोज १९ गते बिहान १०:०० बजेसम्म नजिकैको कुनै पनि सशस्त्र प्रहरी कार्यालयमा हाजिर हुन आदेश दिएको छ ।
हाजिर भएका सबै प्रहरी कर्मचारीलाई तत्काल विपद् उद्धार कार्यमा परिचालन गर्न सशस्त्र प्रहरी बलका सम्पूर्ण युनिटलाई निर्देशन गरिएको छ । तोकिएको समयमा हाजिर नभई उद्धार कार्यमा संलग्न हुन नसक्ने प्रहरी कर्मचारीमाथि नियम अनुसार कारबाही हुने चेतावनी पनि प्रधान कार्यालयले दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालले विपद्को जोखिम बढ्दै गएको अवस्थामा सुरक्षाकर्मी सधैं तत्पर रहनुपर्ने आवश्यकता औंल्याउँदै यस सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
