काठमाडौं,३१ असोज ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिको संरक्षण र पुनः प्राप्तिको अभियानबारे जानकारी दिँदै अहिलेसम्म २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन्। फिर्ता गरिएका जग्गाको मूल्य करिब २३ अर्ब रुपैयाँ बराबर रहेको मेयर शाहले बताएका हुन्।
उनका अनुसार महानगरको लक्ष्य करिब २ खर्ब रुपैयाँ मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना सार्वजनिक जग्गा पुनः प्राप्त गर्ने रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै उनले आफू निर्वाचित भएको पहिलो दिनदेखि नै “सार्वजनिक सम्पत्तिमा जनताको पहुँच वृद्धि गर्ने” नीति अनुरूप काम गरिरहेको बताए।
शाहका अनुसार, अहिलेसम्म फिर्ता गरिएका जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलमैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र अन्य सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। यस क्रममा अतिक्रमित केही खोला कोरिडोरहरू समेत खाली गराइएको उनले बताए।
सार्वजनिक सम्पत्तिको संरक्षण कार्यलाई थप प्राथमिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई नीति आधारका रूपमा ग्रहण गरिएको छ। आयोगले मिचिएका जग्गाहरूको विवरणसहितको प्रतिवेदन महानगरलाई बुझाएको छ, जसमा मिच्ने व्यक्तिहरूका नाम, ठेगाना, कित्ता नम्बर र मिचिएको क्षेत्रफलसमेत समावेश छन्।
शाहले भने, “यो अभियान केवल अतिक्रमण हटाउने अभियान होइन, यो नागरिकको स्वाभिमान, अधिकार र सार्वजनिक सम्पत्तिमा जनताको पहुँच सुनिश्चित गर्ने आन्दोलन हो।”
महानगरले आगामी दिनमा कार्यान्वयन समिति गठन गरी आयोगको सिफारिसअनुसार बाँकी सार्वजनिक जग्गा फिर्ता गर्ने कार्य सुरु गर्ने जनाएको छ। उनले सम्पूर्ण नागरिक, समुदाय, संस्था र सरोकारवालालाई यो अभियान सफल बनाउन सहयोग गर्न आह्वान पनि गरेका छन्।
साथै, महानगरले कुनै व्यक्ति वा संस्थाले सार्वजनिक सम्पत्ति मिचेको जानकारी भएमा सहरी व्यवस्थापन विभागमा सूचना दिन नागरिकहरूलाई अनुरोध गरेको छ।
“हामीलाई थाहा छ, यो कार्य केवल महानगरपालिकाको प्रयासले सम्भव हुँदैन, तर सच्चा नागरिकको साथ र आवाजले यो अवश्य सम्भव हुनेछ,” — मेयर बालेन शाह।
