सशस्त्र प्रहरी बाराका एसपी केसिको नेतृत्वमा ६ लाख भन्दा बढीका अवैध सामान बरामद

समाचार

बारा, ३ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसिको निर्देशनमा अवैध सामान नियन्त्रण तथा तस्करी रोकथाम अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरूबाट अन्दाजी रु. ६ लाख १० हजार बराबरका भन्सार छलिएका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्लाका विभिन्न सिमानाका तथा राजमार्ग क्षेत्रमा खटिएका सशस्त्र प्रहरी टोलीहरूले पछिल्ला २४ घण्टाभित्र मात्रै चार फरक घटनामा उक्त सामान बरामद गर्न सफल भएका हुन्।

प्राप्त विवरण अनुसार—

🔹 पहिलो घटना:
कार्तिक ३ गते बिहान १०:४० बजे सिम्रौनगढ नगरपालिका–९ झरोखर सीमाक्षेत्रमा बि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक रविन ढुंगेलको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले भारततर्फबाट अबैध रूपमा भन्सार छल्दै ल्याइएका २ वटा मोटरसाइकल र किराना सामान बरामद गरेको हो।
उक्त सामानहरूको कुल अन्दाजित मूल्य रु. ३ लाख ८६ हजार ७३० बराबर रहेको बताइएको छ। सामान छाडेर ती व्यक्ति फरार भएका थिए भने बरामद मोटरसाइकल र किराना सामान बि.ओ.पि. गोलागंजमा ल्याई राखिएको छ।

🔹 दोस्रो घटना:
त्यसै दिन बिहान ११:४० बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमाक्षेत्रमा तीन जना व्यक्तिहरूले टाउकोमा बोकी भारतबाट नेपालतर्फ ल्याउँदै गरेका छोकडा, कपडा र कस्मेटिक सामानहरू गुल्म मटिअर्वाबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो।
बरामद सामानहरूको अन्दाजित मूल्य रु. ९७ हजार रहेको छ। सामान आवश्यक कारबाहीका लागि गुल्म मटिअर्वामा राखिएको छ।

🔹 तेस्रो घटना:
कार्तिक ०२ गते बिहान ११:४५ बजे बिश्रामपुर गाउँपालिका–१ करैया खोला नजिक एफ.ओ.बि. छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवहरी खत्रीको नेतृत्वमा खटिएको गस्ती टोलीले भारततर्फबाट टाउकोमा बोकी ल्याउँदै गरेको रु. ५१ हजार मूल्य बराबरको सुती साडी बरामद गरेको हो। सामान त्यही स्थानमा छाडी व्यक्तिहरू फरार भएका थिए। बरामद कपडा बि.ओ.पि. बरैनियामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

🔹 चौथो घटना:
कार्तिक ०३ गते बिहान ११:५० बजे जितपुरसिमरा उपमहानगरपालिका–७ लल्कापुल नजिकको बिरगंज–पथलैया सडक खण्डमा सशस्त्र प्रहरी नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको मोबाइल टोलीले यात्रुवाहक बसको डिक्कीभित्र लुकाइराखिएको कपडा बरामद गरेको हो।
उक्त कपडाको अन्दाजित मूल्य रु. ७५ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद कपडा आवश्यक कानुनी कारबाहीका लागि सुरक्षा बेस जितपुरमा ल्याइएको छ।

सशस्त्र प्रहरी बल बाराले सबै बरामद सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी विरगंज भन्सार कार्यालयमा बुझाइने जनाएको छ।
गणपति एसपी खुमबहादुर केसीका अनुसार सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण र भन्सार छली रोकथामका लागि नियमित गस्ती, चेकजाँच तथा निगरानी झनै कडा पारिएको छ।

उनले भने, “तिहार र छठ पर्वको अवसरमा अवैध वस्तुहरूको ओसारपसार बढ्ने सम्भावना रहँदा सशस्त्र प्रहरीले जिल्लाभर उच्च सतर्कता अपनाएको छ।”

यसरी सशस्त्र प्रहरी बाराको संयन्त्रले छोटो अवधिमै उल्लेख्य परिमाणमा अवैध सामान नियन्त्रणमा लिनु सीमामा तस्करी नियन्त्रणका दिशामा सकारात्मक सफलताका रूपमा लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *