काठमाडौं, ४ कार्तिक।
कर्तव्य पालनको क्रममा बर्दीमा रहेका प्रहरीमाथि आक्रमण गरी आगजनी, तोडफोड र हतियार लुटपाट गर्ने अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल भदौ २४ गते भएको प्रदर्शनका क्रममा विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने समूहमा संलग्न रही प्रहरीले पक्राउ गरेको व्यक्तिको नाम गौतम घिसिङ (४८ वर्ष) रहेको छ। घिसिङ दोलखा जिल्ला, शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा बस्दै आएका हुन्।
घटनाको क्रममा घिसिङले प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेको, कर्तव्य पालनमा खटिएका प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोलेर बाग्मती खोलामा फाल्ने काम गरेको, साथै प्रहरीको हतियार र गोलीगठ्ठा लुटपाट गरेको आरोप लागेको छ।
उक्त घटनामा संलग्न रहेको ठहरपछि उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौं बाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसूरमा ८ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, पक्राउ परेका घिसिङ विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका थिए। उनीमाथि २०७९ साल असोज ४ र फागुन १० गते बैंकिङ कसूरका मुद्दा दर्ता भई प्रहरी वृत्त गौशालाबाट फरार रहेको तथ्य खुलेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई का अनुसार, घिसिङविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको र अन्य संलग्न व्यक्तिहरुको पनि खोजी कार्य जारी रहेको छ।
