मोरङ, मंसिर २३ ।
मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको जबरजस्ती करणीपछि हत्या गरिएको दुःखद घटनामा संलग्न आरोपी वर्ष ५९ को पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विस्तृत प्राविधिक अनुसन्धान, समुदायगत सूचना संकलन तथा विशेष ‘अपरेशन JAG’ सञ्चालन गर्दै घटनामा संलग्न मुख्य अभियुक्तलाई मंसिर १९ गते फडानीस्थित निजकै घरबाट पक्राउ गरेको हो।
पीडित बालिकाको पहिचान तथा हराइको जानकारी
लेटाङ–२ फडानी बस्ने नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम लेटाङस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।
मिति २०८२ असोज २१ गते दिउँसो २:०० बजे घरबाट कसैलाई नभनी निस्किएकी अंशु हराएको भन्दै परिवारले असोज २२ गते इलाका प्रहरी कार्यालय, लेटाङमा हुलिया निवेदन दिएका थिए। हुलिया परिपत्र देशभरका सबै जिल्ला प्रहरी कार्यालयमा पठाइयो र तत्काल खोजतलास थालियो।
लास फेला र प्रारम्भिक पहिचान
असोज २५ गतेदेखि प्रहरी, स्थानीयवासी तथा नेपाली सेनाको सहयोगमा जंगल सर्च सुरु गरिएको थियो।
कार्तिक ७ गते लेटाङ–२ बेलबारी चिसाङ साझेदारी वनमा स्थानीयले सडीगलेको अवस्थामा केवल कन्चटदेखि तलका अंग र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको टोलीले फेला परेका कपडा—चप्पल, कालो हाफ प्यान्ट र घडी—आधारमा अंशुको पहिचान प्रारम्भिक रूपमा परिवारको सनाखतबाट पुष्टि गरेको थियो।
पोस्मार्टम, DNA परीक्षण र प्राविधिक अनुसन्धान
फेला परेका मानव अंगहरूलाई SOCO टोलीले संकलन गरी पोस्मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो।
त्यहाँबाट प्राप्त नमुना तथा मृतकका अभिभावकका DNA नमूना कोशी अस्पतालबाट संकलन गरी काठमाडौँस्थित नेपाल प्रहरी केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आउन बाँकी छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानले शव १२–१४ वर्ष उमेरसम्बन्धी र मृत्यु करिब तीन साताअघि भएको अनुमान गरेको छ।
३०० भन्दा बढी व्यक्तिको सोधपुछ
अनुसन्धानका क्रममा घर–परिवार, छिमेक, विद्यालय, कुनै व्यक्तिगत वैमनस्यतासम्बन्धी र जंगल आवतजावत गर्ने व्यक्तिहरू गरी करिब ३०० भन्दा बढीलाई सोधपुछ गरिएको तथा ५४ जनाबाट लिखित बयान लिइएको प्रहरीले बताएको छ।
CCTV फुटेज, फरेन्सिक विश्लेषण, समुदायगत प्रोफाइलिङ र स्थलगत अनुसन्धानका आधारमा आरोपी पहिचानमा सघाएका थिए।
पक्राउ परेका पदमबहादुर अधिकारीको भूमिका
पक्राउ परेका पदमबहादुर अधिकारी (५९) ले घटनाको प्रारम्भिक बयानमा यस्तो बताएका छन्ः
– असोज २१ गते दिउँसो अंशु र उनकी साथी युरिकालाई विद्यालय नजिकै देखेको।
– युरिकाले पैसा मागेपछि ५ रुपैयाँ दिएको र उनलाई घरमा दिदी खोज्न पठाएको।
– अंशुलाई ‘घाँस काट्न सहयोग गर’ भन्दै जंगलतर्फ लागेका अधिकारीले साइकलमा राखी करिब ४ किलोमिटर भित्र लैजाने।
– जंगलमा अंशुमाथि जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको तथा हँसियाले काटेको स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार घटना ‘sex motive’ साथै व्यक्तिगत रिसइवी वा अन्य मनोवैज्ञानिक कारणबाट प्रेरित हुन सक्ने प्रारम्भिक विश्लेषण छ।
कानूनी कारबाही
अधिकारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को—
- दफा १७७ : ज्यान सम्बन्धी कसुर
- दफा २१९ : जबरजस्ती करणी
- दफा ४१ (क) तथा (च) : बालिकाविरुद्धका कृत्य
अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
