१० हजार घुस लिएर न्याय नदिएको आरोप: बहुअर्वा भाठ्ठा चौकीका असई राम बिश्वास पटेलमाथि गम्भीर आरोप, असईद्वारा आरोप अस्वीकार

समाचार

पर्सा, २९ मंसिर ।
पर्सा जिल्लास्थित अस्थायी प्रहरी चौकी बहुअर्वा भाठ्ठाका प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास पटेलमाथि पीडित महिलाले १० हजार रुपैयाँ लिई न्याय नदिएको गम्भीर आरोप लगाएकी छिन। यद्यपि, असई पटेलले भने उक्त आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्।

पीडित महिला बारा जिल्लाको डुमरवाना बस्ने वर्ष २६ की सोनम चौधरी रहेको खुलेको छ। पीडित महिलाका अनुसार पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका हरिनगर निवासी भुलाही साह कलवारले करिब ५ वर्षदेखि आफूलाई पत्नीको रूपमा राख्दै आएको तर पछिल्ला दुई महिनादेखि अर्की महिलालाई घरमा ल्याई आफूलाई घरबाट निकालिएको हो।

न्यायको खोजीमा पीडित महिला अस्थायी प्रहरी चौकी बहुअर्वा भाठ्ठामा निवेदन लिएर पुगेकी थिइन्। तर त्यहाँका असई राम बिश्वास पटेलले न्याय दिलाउनुको सट्टा आर्थिक प्रलोभनमा परेर १० हजार रुपैयाँ लिएर मुद्दा अघि नबढाएको पीडित महिलाको आरोप छ। उनले आफूलाई एक लाख पचास हजार रुपैयाँको चेक थमाएर चौकीबाट भगाइएको दाबीसमेत गरेकी छन्।

पीडित महिलाका अनुसार भुलाही साह कलवारले विवाह दर्ता गरिदिने, नागरिकता बनाउन सहयोग गर्ने तथा स–सम्मान पत्नीको रूपमा घरमा राख्ने आश्वासन दिए पनि हालसम्म ती प्रतिबद्धता पूरा नगरिएको बताएकी छन्। उल्टै आफू अन्यायमा परेको भन्दै उनले कानुनी कारबाहीको माग गरेकी छन्।

यस विषयमा प्रतिक्रिया दिँदै प्रहरी सहायक निरीक्षक राम बिश्वास पटेलले फोन सम्पर्कमा आफूले कुनै पनि रकम नलिएको स्पष्ट पारे। “१० हजार रुपैयाँको लेनदेनको आरोप पूर्ण रूपमा गलत हो। मैले कुनै पैसा लिएको छैन, पीडितका भनाइ अनुसार दुवै पक्षबीच सहमति गराउने प्रयास मात्र गरेको हुँ,” उनले भने।

यस घटनासँग जोडिएको विषय बहु–विवाहसम्बन्धी कानुनी प्रावधान पनि गम्भीर रूपमा उठेको छ। नेपालको राष्ट्रिय फौजदारी संहिता, २०७४ अनुसार बहु–विवाह स्पष्ट रूपमा निषेध गरिएको छ। पहिलो विवाह कायम छँदै दोस्रो विवाह गर्नु वा पत्नी/पति जीवित रहेको अवस्थामा कानुनी रूपमा सम्बन्ध विच्छेद नगरी अर्को विवाह गर्नु अपराध मानिन्छ।

कानुन अनुसार बहु–विवाह गर्ने व्यक्ति मात्र नभई जानी–जानी यस्तो विवाह गराउने वा सहयोग गर्ने व्यक्ति पनि कानुनी कारबाहीको दायरामा पर्छन्। यस अपराधमा १ वर्षदेखि ५ वर्षसम्म कैद, १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। धर्म, संस्कृति वा आपसी सहमतिका आधारमा पनि बहु–विवाहलाई कुनै अपवाद दिइएको छैन।

घटनाबारे स्थानीयस्तरमा चासो बढ्दै गएको छ। पीडित महिलाले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेकी छन् भने प्रहरी प्रशासनले घटनाबारे आवश्यक अनुसन्धान गरिने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *