धनुषा ,२८ मंसिर । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी बरिष्ठ नायव निरीक्षक सागर शम्सेर ज.ब.रालाई २०८२ साल मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई हाल प्रहरी चौकी जनकपुरधाममा कार्यरत प्र.ब.ना.नि. सागर शम्सेर ज.ब.रा.ले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा उच्च व्यावसायिक दक्षता र जिम्मेवारीबोधका साथ उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।
मिति २०८२/०७/२८ गते बिहान करिब ६:२० बजे धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गरिएको जघन्य घटनामा संलग्न १२ जनामध्ये धर्मनाथ यादव, पप्पु यादव, मनोज यादव र शम्भु यादवलाई पक्राउ गर्न उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, मिति २०८२/०७/२९ गते जनकपुरधाम उपमहानगरपालिका–११ स्थित होटल हिमालय एण्ड रेष्टुरेन्टमा परिवर्तित नाम ०८२/०८३–२० (३५घ) लाई विभिन्न प्रलोभनमा पारी पटक–पटक जबर्जस्ती करणी गरिएको घटनामा संलग्न प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएका छन्।
यसका साथै, मिति २०८२/०७/२३ देखि २५ गतेसम्म जनकपुरस्थित मिथिला चिरायु होटलमा १३ वर्षीया बालिकालाई डर, त्रास देखाई बन्धक बनाई पटक–पटक जबर्जस्ती करणी गरी फरार रहेका प्रतिवादीहरूलाई पनि विभिन्न स्थानबाट पक्राउ गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
उक्त अवधिमा २०८२ सालको राम–सीता विवाह पञ्चमी मेलाको सम्पूर्ण अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिई शान्ति सुरक्षा कायम गर्न समेत उनको भूमिका प्रशंसनीय रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफूले पाएको जिम्मेवारी उच्च व्यावसायिक कुशलताका साथ निर्वाह गर्दै प्रहरी संगठनको छवि उकास्न योगदान पुर्याएको, साथै आम नागरिकमा प्रहरीप्रतिको विश्वास र सकारात्मक सोच अभिवृद्धि गराएको मूल्याङ्कनसहित प्र.ब.ना.नि. सागर शम्सेर ज.ब.रा.लाई मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
