वीरगन्ज, पुस १२।
बङ्गलादेशमा निर्ममतापूर्वक हत्या गरिएका अल्पसंख्यक समुदायका हिन्दू युवक दिपु चन्द्र दासको आत्माको शान्ति तथा न्यायको माग गर्दै वीरगन्जमा शान्तिपूर्ण र्याली सम्पन्न भएको छ।
उक्त र्याली जमिअत उलेमा–ए नेपालका सहअध्यक्ष तथा मुस्लिम धर्म गुरु मौलाना अलीअसगर मदनीको अगुवाइमा आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै मौलाना मदनीले दिपु चन्द्र दासको हत्यारालाई कडा भन्दा कडा सजाय, फासीसम्म दिनुपर्ने माग गरे। उनले निर्दोष व्यक्तिको हत्या कुनै पनि धर्म, समाज र मानवताले स्वीकार नगर्ने स्पष्ट पारे। “मुस्लिम–हिन्दु भाइ–भाइ” भन्ने नारासहित उनले नेपालमा विभिन्न धर्मावलम्बीबीच सदियौँदेखि कायम रहेको आपसी सद्भाव, सहअस्तित्व र भाइचारालाई अझ मजबुत बनाउनु आजको आवश्यकता भएको बताए।
मौलाना मदनीले नेपालमा मुस्लिम, हिन्दु, सिख, इसाई, क्रिश्चियन, बौद्धलगायत सम्पूर्ण धर्मका नागरिकहरू आपसमा भाइचाराका साथ शान्तिपूर्ण रूपमा बसोबास गर्दै आएको उल्लेख गर्दै धार्मिक सहिष्णुता नै नेपालको पहिचान भएको बताए। उनले यस्ता जघन्य अपराधविरुद्ध सबै धर्मका नागरिक एकजुट भई आवाज उठाउनुपर्नेमा जोड दिए।
शान्तिपूर्ण र्यालीमा सहभागीहरूले हत्या घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन माग गरेका थिए।
