उदयपुर ,१३ पुस। इलाका प्रहरी कार्यालय बेल्टार उदयपुर र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
रामपुरबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा सोही गाडीमा लुकाइछिपाइ ल्याइँदै गरेको ३० बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल बोरा सहित ७६३ किलो ७६० ग्राम रहेको छ।
घटनास्थलबाट बोलेरो चालक बेलका नगरपालिका–६ निवासी अन्दाजी २३ वर्षीय रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका–९ निवासी अन्दाजी २८ वर्षीय रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै व्यक्तिलाई इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरमा राखी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
