६६ किलो गाँजासहित तीन जना पक्राउ

समाचार

मकवानपुर, पुस १९।
मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पुस १८ गते राति करिब ८ बजे इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–८ स्थित युक्ती खोलाको किनार क्षेत्रमा शंकास्पद अवस्थामा पिठ्युमा भारी बोकी हिँडिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–८ क्याङराङ निवासी ४१ वर्षीय मनिकलाल प्रजा, १९ वर्षीय दिपक भन्ने थोमा प्रजा र १९ वर्षीय सागर तामाङ रहेका छन्। प्रहरी टोलीले उनीहरूलाई शंका लागी रीतपूर्वक खानतलासी गर्दा बोकी ल्याएको बोराभित्र प्रतिबन्धित लागू औषध गाँजा ६ पोकामा जम्मा ६६ किलो १० ग्राम फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको लागू औषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई निरन्तर तीव्र बनाइने समेत जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *