शितलहरको चपेटामा परेका बिपन्न परिवारलाई कम्बल वितरण

समाचार

पर्सा, १९ पुस ।
पर्सा जिल्लामा बढ्दो जाडो र शितलहरका कारण प्रभावित बिपन्न तथा गरिब घरपरिवारलाई जोगाउन न्यानो कपडा तथा कम्बल वितरण गरिएको छ। जिल्लाको ग्रामीण भेग महुवनमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक तथा सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा कम्बल वितरण गरिएको हो।

चिसो मौसमका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला जाडोबाट बचाउने उद्देश्यले यो मानवीय सहयोग कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

कार्यक्रम ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनको सहकार्यमा सम्पन्न भएको हो।
ग्रामीण तथा विपन्न समुदाय बसोबास गर्ने महुवन क्षेत्रका वृद्धवृद्धा, बालबालिका, महिला तथा असहाय परिवारका सदस्यहरूलाई प्राथमिकतामा राखी कम्बल वितरण गरिएको थियो। कार्यक्रममा सहभागी सुरक्षाकर्मी तथा प्रशासनका प्रतिनिधिहरूले शितलहरका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै समयमै सहयोग पुर्‍याउनु आवश्यक रहेको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दहालले जाडो मौसममा विपन्न वर्ग सबैभन्दा बढी प्रभावित हुने भएकाले राज्यका निकायहरू समन्वय गरेर राहत तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताए। “शितलहरका कारण बालबालिका, वृद्धवृद्धा र असहाय व्यक्तिहरूको स्वास्थ्य जोखिममा पर्न सक्छ, त्यसैले प्रशासन, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा न्यानो कपडा वितरण गरिएको हो,” उनले भने।

त्यसैगरी, पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले प्रहरी केवल शान्ति–सुरक्षामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व वहन गर्दै विपद् तथा कठिन समयमा नागरिकको साथमा रहने बताए। उनले आगामी दिनमा पनि आवश्यकता अनुसार यस्ता मानवीय सहयोगका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।

सशस्त्र प्रहरी प्रमुख एसपी पुरन चन्द्र भट्टले सीमावर्ती तथा ग्रामीण क्षेत्रमा चिसोको प्रभाव बढी देखिने भएकाले त्यस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गरिएको उल्लेख गरे। “सुरक्षासँगै नागरिकको जीवन र स्वास्थ्य जोगाउनु पनि हाम्रो दायित्व हो,” उनले भने।

कम्बल प्राप्त गरेका स्थानीय बासिन्दाहरूले चिसो मौसममा सहयोग प्राप्त हुँदा राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले राज्यका निकायहरू गाउँमै आएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।
बढ्दो शितलहरका कारण पर्सासहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित भइरहेका बेला प्रशासन, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा गरिएको यो कार्यक्रमले बिपन्न वर्गका नागरिकलाई चिसोबाट जोगाउन महत्वपूर्ण सहयोग पुगेको स्थानीयले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *