पर्सा, साउन २१।
सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छली गरी भारतबाट चोरीपैठारी गरी ल्याइएका करीब रु. ३,६२,०५०।– बराबरका अवैध सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोली र बीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले मिति २०८२ साल साउन २० गते, जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका–१०, आदर्शनगर पुरानो बसपार्कस्थित भैरव क्यारीयर्स प्रा.लि. को गोदाममा विशेष सूचनाको आधारमा छापा मारेको थियो।
उक्त छापामा भारतबाट चोरीपैठारी गरी ल्याई भण्डारण गरी राखिएका रु. २,८८,०००।– बराबरका जुत्ताहरू नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।
त्यसैगरी सोही दिन सोही गुल्मबाट खटिएको अर्को टोलीले बीरगञ्ज महानगरपालिका–१६ स्थित विभिन्न नाकाहरूबाट अबैध रूपमा भन्सार छली गरी विभिन्न सवारी साधनमार्फत नेपालतर्फ ल्याइँदै गरेको रु. ७४,०५०।– बराबरको किराना सामान तथा अन्य सामग्रीहरू समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले जानकारी दिनुभएको छ।
सशस्त्र प्रहरी बलले सीमामा तस्करी नियन्त्रणलाई थप सशक्त बनाउँदै आएको जनाइएको छ।
