वीरगञ्ज, २१ साउन ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक बिरामी बालकका कुरुवामाथि अस्पतालकै प्रहरी बिटमा खटिएका प्रहरी सहायक हवलदार परमानन्द कपाजीले दुर्व्यवहार गरेकाे घटना सार्वजनिक भएपछि व्यापक चर्चा पाएको छ।
मङ्गलवार अस्पतालको दोस्रो तल्लाको गल्लीमा बसेर खाना खाइरहेका बिरामी बालकका अभिभावकमाथि दुर्व्यवहार गरिएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आफैँ घटनास्थलमा पुगेर चासो व्यक्त गरेका हुन्।
मेयर सिंहले अस्पतालमै भेटेर शल्यक्रिया गराएर भर्ना भएका बालक र उनका आमाबुवासँग सम्वाद गर्दै सान्त्वना दिएका छन्। साथै उनले दोषी प्रहरीमाथि कडाभन्दा कडा कारबाही हुने स्पष्ट आश्वासनसमेत दिएका छन्।
घटनापछि मेयर सिंहले तत्काल अस्पताल प्रशासन तथा पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई फोनमार्फत सम्पर्क गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेका थिए।
मेयर सिंहको पहल लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी मिश्रले दुर्व्यवहारमा संलग्न प्रहरी सहायक हवलदार कपाजीलाई अस्पतालबाट फिर्ता बोलाई कार्यालयमा तानेर घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।
हाल घटनाबारे थप छानबिन जारी रहेको र आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाप्रति गम्भीर ध्यान दिँदै पीडित पक्षलाई न्याय दिन प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
