वीरगञ्ज,२२ चैत ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित श्री दुर्गा रोड कैरियर्सको गोदाममा छापा मारेको छ।
मदन गुप्ता ‘रुन्चे’द्वारा सञ्चालित उक्त गोदाममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू भण्डारण गरिएको विशेष सूचनाका आधारमा छापा मारिएको हो। छापाको क्रममा कपडा (सटिङ्ग, सुटिङ्ग) तथा मोबाइल पार्ट्सहरू भण्डारण अवस्थामा फेला परेका छन्।
राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल पर्सा ,गुल्म वीरगञ्ज, वीरगञ्ज भन्सार कार्यालयका संयुक्त टोलीले छापा मारेको हो। टोलीको नेतृत्व क्रमशः राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरि प्रसाद शर्मा, सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा र भन्सार कार्यालयका नायब सुब्बा हफिजुल्ला अन्सारीले गरेका थिए।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाका अनुसार खानतलासीको क्रममा सटिङ्ग सुटिङ्गका कपडाहरु तथा मोबाईल पार्टसका विल विजक र विल विजकमा उल्लेखित सामानहरु मेल नखाएका कारण अनुसन्धानको प्रक्रिया नटुंगिएसम्मका लागि विक्री वितरण र ठाउँ सारी गर्न नपाउने गरि ती सामग्रीहरू श्री दुर्गा रोड कैरियर्सका सञ्चालक मदन गुप्ताको जिम्मामा राखिएको छ।
त्यस्तै सोही स्थानमा रहेको रेणु इम्पोरियमका गोदाममा पनि भन्सार छलीका सामाग्री रहेको आशंकामा खानतलासी गर्न खोज्दा सम्बन्धित व्यक्ति सम्पर्कमा नआएको हुँदा उक्त गोदाममा ताल्चा लगाई राजस्व अनुसन्धान कार्यालयले शिल गरेको छ।
छापामारी चैत्र २२ गते बिहान करिब ८:३० बजे गरिएको राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनाएको छ।
