पर्सा, ८ असार — सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौडाबाट भारतबाट अवैध रूपमा चोरी-पैठारी गरी ल्याइएका २५ काटुन (२,५०० गोटा) प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ।
भारतको नम्बर प्लेट भएको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा पर्सा प्रवक्ता देबेन्द्र बहादुर सिंहले जानकारी दिए। आवश्यक प्रक्रिया पूरा गरी उक्त चल्ला स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा नं. १३ गण परिसरभित्र नष्ट गरिएको थियो।
साथै, अवैध पैठारीमा संलग्न जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–२ निवासी अन्दाजी ५० वर्षीय साबिर अन्सारीलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रवक्ताले बताए।
