रसीद आलम
वीरगञ्ज, ९ असार । जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत प्रहरी चौकी ईनर्वाले हुण्डीको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
असार ६ गते दिउँसो करिब १:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा प्रहरी नायब निरीक्षक रोशन कार्कीको कमान्डमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आइरहेका एक जना व्यक्तिलाई शंका लागी रोकी चेकजाँच गर्दा स्रोत नखुलेको ३ लाख ४६ हजार रुपैयाँ हुण्डीको रकम फेला पारेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतीहारी जिल्ला रक्सौल वडा नं. १७ निवासी ५० वर्षीय प्रभु साह रहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।
साहको साथबाट नेपाली १,००० दरका ३४४ थान नोट (रू. ३,४४,०००) र १०० दरका २० थान नोट (रू. २,०००) गरी जम्मा ३,४६,००० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । सो रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित रहेको आशंका गर्दै साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।
पक्राउ परेका साहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरअन्तर्गत सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिन म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।
यस सम्बन्धमा पर्साका एसपी गौतम मिश्रले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने कार्यसँगै तस्करी र हुण्डी कारोबार नियन्त्रणका लागि प्रहरीले कडा रुपमा अभियान सञ्चालन गरिरहेको बताए । उनले अपराध नियन्त्रणमा कुनै पनि किसिमको सम्झौता नगर्ने तथा यस्ता अवैध क्रियाकलापलाई जरोमूलदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे ।
पक्राउ परेका व्यक्तिको विवरण:
- नाम: प्रभु साह
- उमेर: ५० वर्ष
- ठेगाना: भारत, बिहार राज्य, मोतीहारी जिल्ला, रक्सौल वडा नं. १७
- बरामद रकम: नेपाली रू. ३,४६,००० (तीन लाख छयालीस हजार)
यस घटनाबारे प्रहरीले गहिरो अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।
